दफा १९
सचिवको नियुक्ति
(१) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि स्वास्थ्य सेवाको बार्हौं तहमा कार्यरत र एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्नेछ ।
(१क) उपदफा (१) बमोजिम सचिव पदमा नियुक्ति हुनको लागि नेपाल सरकारले तोकेको उच्चस्तरीय व्यवस्थापन तालीम उत्तीर्ण गरेको हुनु पर्नेछ ।
(१ख) सचिवको नियुक्ति देहाय बमोजिमको बढुवा समितिको सिफारिसमा नेपाल सरकारले गर्नेछः–
(क) लोक सेवा आयोगको अध्यक्ष वा निजले
तोकेको सो आयोगको सदस्य – अध्यक्ष
(ख) लोक सेवा आयोगको अध्यक्षले तोकेको सो
आयोगको सदस्य – सदस्य
(ग) मुख्य सचिव – सदस्य
(घ) लोक सेवा आयोगद्वारा मनोनीत सम्बन्धित
विषयको विशेषज्ञ – सदस्य
(ङ) सामान्य प्रशासन मन्त्रालयको सचिव – सदस्य–सचिव
(२) उपदफा (१) बमोजिम नियुक्त सचिवको पदावधि दफा ४५ को अधीनमा रही पाँच वर्ष हुनेछ ।
(३) उपदफा (२) बमोजिम सचिवको पदावधिको गणना गर्दा निजले बाह्रौं तहमा गरेको सेवा अवधिलाई समेत गणना गरिनेछ ।